विपिन जोशीको महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि 

हमासले बन्धक बनाएको समयमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि गरियो।

जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे। त्यसपछि शसस्त्र प्रहरी बलको एक टुकुडीले विपिनलाई सलामी अर्पण गर्यो।

इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल-हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपीनको हत्या गरिएको जनाइएको छ। विपिन जीवित नरहेकोबारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो। कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपीनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए। सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए।

विपिनको खोजीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जीवित नभएको हमासले बताएको थियो। विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो। भुजेलाघाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए। 

नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए। राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौंबाट विपिनको अन्त्यिेष्टीसम्म सहभागी भयो। विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ।

शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.