एमालेका पूर्व सांसद तथा तिलोत्तमा नगरपालिका का पूर्व मेयर बासुदेव घिमिरेले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घोषणा गरेका हुन्। घिमिरेले आफ्नो धारणा सार्वजनिक गर्दै अहिले आम जनताको चाहना सुशासन, विकास र समृद्धिसँगै नेतृत्व, पुस्ता र रूपान्तरणसमेत भएको उल्लेख गरेका छन्। देशको आवश्यकता, इतिहासको गति र नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार भएको उनको भनाइ छ।
पुराना राजनीतिक दलहरूको नेतृत्वले जनताको इच्छा र चाहनालाई सम्बोधन गर्न नसकेको ठहर गर्दै उनले आजको दिनदेखि आफू संलग्न पार्टीको जिम्मेवारीबाट अलग भएको स्पष्ट पारेका छन्। साथै, आजसम्म अवसर र जिम्मेवारी दिने सबैप्रति आभार व्यक्त गरेका छन्। घिमिरेले सुशासन, विकास र रोजगारीसहित मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाका साथ सधैं नागरिकहरूसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्। घिमिरे आफ्नो फेसबुक मा लेख्छन:
”अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो। देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो । पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु । आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिनुहुने सवै प्रति हार्दिक आभार व्यक्त गर्दछु । सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सवैसंग संगसंगै रहने छु” । जय देश !!!

