सुशील खनाल । मार्च महिनाको पहिलो हप्तामा जब म पारिवारिक यात्राको दौरान स्वीजरल्याण्डको ‘ग्रिण्डलवाल्ड’’ को एउटा अत्याधुनिक रेलमा यात्रा गर्दै थिएँ, मेरा आँखा झ्याल बाहिर रहेका सेता हिमाल र व्यवस्थित बस्तीहरूमा थिए, तर मन भने सात समुद्र पारि आफ्नै देश नेपालको चुनावी चहलपहलमा रहेको थियो। सन् २०२६ मार्च ५ को दिन अर्थात २०८२ फाल्गुन २१ गते म परिवार सहित ग्रिण्डलवाल्डको स्वर्गजस्तो पर्यटकीय स्थलमा प्राकृतिक मनोरम दृष्यको भ्रमण गर्दै थिएँ, तर मेरो ममस्तिष्कमा भने नेपालमा प्रतिनिधि सभाको चुनावी माहौलले हलचल मच्चाइरहेको थियो।
त्यही बेला, रेलको झ्यालबाट देखिने मनमोहक दृश्य हेर्दै मेरी ५ वर्षीया छोरीले हर्ष मान्दै भन्न थालिन, “बुबा, के तपाईंलाई थाहा छ स्वीजरल्याण्ड कस्तो देखिन्छ? यो नेपाल जस्तै देखिन्छ!” अंग्रेजीमा उनको शब्द थियो “ Dady, Do you know what switzerland is look like? Its look like Nepal.”
सानै उमेरमा स्वदेश बाट टाढा भएतापनि नेपाल बारे तस्विरहरु तथा युट्युवमा भिडियोहरु हेरिरहने भएकोले नेपालको भौगोलिक अवस्था र प्राकृतिक सौन्दर्यता संसारमै उत्कृष्ट छ भन्ने छोरीको मानसपटलमा बसेको छ। उनको त्यो अबोध तर देशाप्रतिको लगाव अभिव्यक्तिले रेलमा सँगै बसेका एक स्विस नागरिकको ध्यान खिच्यो। उनले म तर्फ हेरेर मुस्कुराउँदै जे भने, त्यसले मलाई अचम्म बनायो र गर्वले छाती चौडा भयो। छोरीको मुखबाट नेपाल शब्द सुनेको र छोरी अंग्रेजीमै बोलेको हुनाले स्वीस नागरिकलाई हामि कुन देशका नागरिक हौ भन्ने अनुमान लगाउन धेरै कसरत गर्नु परेन। उनले तत्कालै भने, “तपाईंहरू त हामीभन्दा निकै धनी हुनुहुन्छ, ती विशाल हिमाल र प्राकृतिक सौन्दर्यताको हिसाबले!”
एक विदेशीको मुखबाट आफ्नो देशको यो प्रशंसा सुन्दा गौरव त लाग्यो, तर तुरुन्तै एउटा नमीठो प्रश्नले मन चसक्क पार्यो— ‘यदि हामी साँच्चै यति धनी छौँ भने, हाम्रा युवाहरू किन विकसित देशहरुका गल्लीमा पसिना बगाउन बाध्य छन्? किन हाम्रा हिमालहरूमा यस्ता रेल गुड्दैनन्? किन हामी अझै पनि सुनको कचौरा हातमा लिएर संसारसँग पिठो मागिरहेका छौँ?’
यो लेख केवल एउटा यात्रा संस्मरण होइन; यो स्वीजरल्याण्डको ‘सुगन्ध’ (विकास र नैतिकता) र नेपालको ‘सुन’ (प्रकृति र सम्पदा) बीचको एउटा कठीन तुलना हो। यो त हरेक देशभक्त नेपाली नागरिकको मनभित्र उब्जिएको त्यो छटपटी हो। नेपाल र नेपालि जनताले अबको नयाँ नेतृत्व र प्रधानमन्त्री वालेन्द्र शाहसँग ठूलो आशा राखेको छ।
माल पाएर चाल नपाएका हामी नेपाली
भौगोलिक रूपमा हेर्दा स्वीजरल्याण्ड र नेपालको बनावटमा अचम्मको समानता छ। ग्रिण्डलवाल्ड, इन्टरलेकनकेन, लुटेनब्रुनन, जुरिच, मुर्रेन र वेङ्गेन जस्ता क्षेत्रमा घुम्दा मलाई कयौँ पटक आफ्नै देश नेपालको हिमाली तथा पहाडी गाउँघरमा घुमिरहेको आभास भयो। यहाँका पहाडमा बनेका एक दुई तले काठे घरहरू र अलिअलि दुरीमा बसेका बस्तीहरूले आफ्नै गाउँको सम्झना दिलाए। तर, दुई देशको विकासको स्तरमा आकाश-पातालको फरक छ।
प्रकृति र ईश्वरको वरदानको हिसाबले त नेपाल स्वीजरल्याण्डभन्दा कैयौँ गुणा अगाडि रहेको मैले अनुभव गरे। स्वीजरल्याण्डमा हरियाली निश्चित मौसममा मात्र देखिन्छ, तर नेपाल सदाबहार हराभरा देश हो। हामीसँग विश्वकै सर्वोच्च शिखरसहित अग्ला हिमाल, भब्य पहाड र फराकिला तराईका फाँटहरू छन्। बहुसंस्कृति, बहुभाषा, बुद्धको जन्मस्थल, विश्व सम्पदा सूचीका धरोहरहरू, अपार जलस्रोत र शुद्ध पिउन योग्य हिमनदीको पानी, यी हाम्रा अतुलनीय र बहुमुल्य खजाना हुन्।

स्वीजरल्याण्डको विशेषता भनेको अत्यन्तै व्यवस्थित र गुणस्तरीय भौतिक संरचना हो। रेल, केवलकार र सडकको संजालले पहाडका कठीन ठाउँलाई पनि पहुँचयोग्य र सुगम बनाएको छ। मलाई खिन्नता तब भयो जब मैले नेपालमा मोटरसाइकलसमेत जान नसक्ने जस्ता कठीन ठाउँ हुदाँ, स्वीजरल्याण्डमा २-३ लेनका रेलहरू सरर गुडिरहेको देखेँ। के यो विकास नेपालमा सम्भव थिएन र?
नैतिकताको खडेरी र हराएको ‘सुगन्ध’
त्यो स्विस नागरिकको प्रशंसाको जवाफमा मैले मुस्कुराउँदै भनेको थिएँ— “हो, हामीसँग सुन त छ तर सुगन्धको अलि कमी छ। तपाईंहरूकोमा सुन र सुगन्ध दुवै छ।” मेरो यो ठट्टामा नेपालको नमीठो यथार्थ लुकेको थियो। त्यो ‘सुगन्ध’ भनेको व्यवस्थित भौतिक विकास, राज्य प्रणाली र नागरिकहरूको नैतिकता थियो।
नेपाल प्राकृतिक स्रोतमा धनी भए पनि नैतिकता र इमानदारितामा निकै पछाडि परेको महसुस गरेँ। न नेताहरूमा भिजन छ, न कर्मचारीतन्त्रमा इमानदार सेवाभाव, न व्यवसायीहरूमा जिम्मेवारीपन, न त जनतामा अनुशासन। कोही पनि निस्वार्थ रूपमा देशको सेवा गर्न चाहँदैनन्; केवल व्यक्तिगत सम्पत्ति कमाउने लोभले सिंगो देश आज यो अवस्थामा आइपुगेको हो। देश विकासका लागि सुवर्ण अवसरहरू पाउँदा पनि नेतृत्वले कति वेवास्ता गरेको रहेछ र भिजन विनाका नेतालाई देश सुम्पिँदाको परिणाम हामीले भोगिरहेका छौँ।
किन भएन होला नेपालको विकास? एउटा तीतो विश्लेषण
यति धेरै सम्भावना हुँदाहुँदै पनि नेपाल अविकसित रहनुका मुख्य कारणहरू यस्ता छन् (मेरो निजि विचार ):
- राजनीतिक अस्थिरता र नीतिगत खडेरी: स्थिर सरकारको अभाव र सत्ताको खेलले गर्दा विकासका दीर्घकालीन योजनाहरू कहिल्यै अगाडि बढ्न सकेनन्।
- भ्रष्टाचार वृद्धि र सुशासनको अभाव: भ्रष्टाचार देशको जरा-जरामा पुगेको छ। सार्वजनिक कोषको व्यापक दुरुपयोग र नातावाद-कृपावादले योग्यता र क्षमतालाई पाखा लगाएको छ।
- कमजोर र न्यून गुणस्तरको पूर्वाधार: विकासको नाममा विना इन्जिनियरिङ्ग खनिएका सडकहरू, आमदानी बिनाका ठुला भौतिक संरचनाहरू र कम गुणस्तरका निर्माण कार्यहरूले थप नोक्सानी पुऱ्याइरहेका छन्।
- विदेशी आयातमा निर्भरता र स्वार्थीपना: आफ्नै स्थानीय स्रोत-साधनको उपयोग गर्नुको सट्टा व्यक्तिगत स्वार्थका लागि आयातलाई प्रोत्साहन गर्दा अर्थतन्त्र कमजोर भएको छ।
- कानुन र नीतिको पालनामा कमी: जनतामा पनि कानुन मान्न आनाकानी गर्ने र छाडातन्त्रले देश गिजोलिएको हुदाँ पनि देश विकासमा ठुलो बाधा पुगेको छ ।
हामी नेपालीहरू ‘माल पाएर चाल नपाएका’ र ‘आफ्नै उत्पादनलाई वेवास्ता गरेर आयात गर्ने’ भएका छौँ। आफ्नै वैदिक शिक्षा मासेर स्वार्थको शिक्षा घोकाउने र देशको भन्दा पनि पार्टीको नेपाली हुनमा गर्व गर्ने मानसिकताले देश विकास नभएकै हो ।
विकास सम्भव छ: एउटा दृढ विश्वास
स्वीजरल्याण्डका पहाडहरूमा बनेका भौतिक संरचना देखेर म एउटा कुरामा ढुक्क भए, यदि इच्छाशक्ति भएमा नेपालमा पनि विकास शतप्रतिशत सम्भव छ। संसारभरिका पर्यटकहरूलाई नेपाल पहिलो गन्तव्य बनाउन सकिने धेरै सम्भावनाहरू छन्। जसका लागि राज्यले निम्न कुराहरूमा ध्यान दिनु जरुरी छ:
- देशको कुना-कुनामा गुणस्तरीय यातायात व्यवस्था।
- नेपाली पर्यटन व्यवसायीहरूमा नैतिकता र जिम्मेवारी बोध।
- गुणस्तरीय स्थानीय नेपाली उत्पादन र भोजनको प्रवर्द्धन।
- अन्तर्राष्ट्रिय स्तरको बसोबासको उचित-व्यवस्थित व्यवस्था र नेपाली मौलिकता र स्थानिय स्तर प्रवर्धन ।
- राज्यले कडाइका साथ् नीति-नियमको पालना गराउने र नियमन गर्ने( गुणस्तर सेवा, शुद्ध र स्वस्थ खानपान, सरसफाई, सार्वजनिक स्थलमा धुम्रपान-मदिरापान निषेध, यातायातमा हर्न निषेध, सार्वजनिक यातायातमा गीत बजाउन र हल्ला गर्न निषेध, धुम्रपान, मदिरापान गर्ने लाई सार्वजनिक यातायातमा रोक लगायत आदि)।
- आर्थिक पारदर्शिता, जवाफदेहिता, र जनताको कर र राज्यका कर्मचारीहरुको सहि उपयोग।
यो सबै गर्नका लागि राज्यले अलि कठोर बनेर जनतालाई नीति सिकाउनु र लागु गराउनु पर्छ। कानुन सबैका लागि बराबर हुनुपर्छ। युवा शक्ति राजनीतिमा आउनुले एउटा ठूलो आशा जगाएको छ भने पुरानै प्रवृत्तिका नेताहरू र उनका अनुयायीहरुले फेरि पनि देशलाई उही पुरानो अवस्थामा पुऱ्याउने हुन् कि भन्ने निराशा पनि उतिकै छ। तर, एक देशभक्त नेपालीको नाताले म जहिले पनि नेपाल र नेपालीको विकासको कामना गर्दछु।
प्रधानमन्त्री वालेन्द्र शाहलाई खुला पत्र
सम्मानीय प्रधानमन्त्री ज्यू,
गत फाल्गुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भई देशको बागडोर सम्हाल्न आइपुग्नुभएकोमा सर्वप्रथम तपाईंलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु। एउटा देशभक्त नेपाली र विश्वभर छरिएका नेपालीहरूको एक पात्रको रूपमा म यो खुला पत्र लेख्दैछु।
प्रधानमन्त्री ज्यू, तपाईंको कार्यकालमा नेपालले विकासको एउटा नयाँ मोड लिनेछ भन्ने ठूलो आशा र विश्वास देशवासीमा छ। तपाईंले काठमाडौँ महानगरपालिकामा देखाउनुभएको भिजनरी नेतृत्व र कडा निर्णय लिन सक्ने क्षमता अब सिंगो देशको विकासमा प्रयोग हुने बेला आएको छ।
मैले यो लेखमा चर्चा गरेझैँ, नेपाल प्रकृति र संस्कृतिमा विश्वकै सबैभन्दा धनी देश हो। तर हामी एउटा व्यवस्थित राज्य प्रणाली र नैतिक समाजको खडेरीमा छौँ।
मैले स्वीजरल्याण्डमा देखेको विकास र रेल सञ्जाल हाम्रै हिमाल र पहाडहरूमा पनि सम्भव छ। तपाईंको नेतृत्वमा यस्ता विकासका विषयहरुमा विशेष ध्यान दिइनेछ भन्ने मेरो आशा छ: सुशासन र भ्रष्टाचारको पूर्ण अन्त्य देश विकासको सबैभन्दा महत्वपूर्ण आधार हो, किनकि भ्रष्टाचार नै प्रगतिको मुख्य बाधक बनेको छ। त्यसैले शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गर्दै आर्थिक पारदर्शिता कायम गर्नु अत्यावश्यक छ। यससँगै, नेपालको भौगोलिक चुनौतीलाई अवसरमा रूपान्तरण गर्न गुणस्तरीय सडक, रेल तथा केवलकारसहितको व्यवस्थित यातायात सञ्जाल विस्तार गर्न दीर्घकालीन र दूरदर्शी योजनाहरू आवश्यक छन्। त्यस्तै, विदेशी आयातमा निर्भरता घटाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुका साथै पर्यटनलाई देशको प्रमुख आय स्रोतका रूपमा विकास गर्न पर्यटन पूर्वाधारमा पर्याप्त लगानी गर्नुपर्छ। अन्ततः, समृद्ध राष्ट्र निर्माणका लागि नागरिकहरूमा अनुशासन र कानुन पालनाको भावना बलियो हुनुपर्छ, र राज्य संयन्त्रले कुनै पनि विभेद बिना कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्छ।
हामी नेपालीहरू ‘सुनको कचौरा लिएर पिठो माग्ने’ र ‘माल पाएर चाल नपाउने’ अवस्थामा कहिलेसम्म रहने? यसको अन्त्य तपाईंको कार्यकालमा हुनेछ भन्ने मलाई विश्वास छ। तपाईंको एउटा कडा तर सही निर्णयले नेपाल र नेपालीको भाग्य बदल्न सक्छ। तपाईंलाई यो ऐतिहासिक अवसरको पूर्ण उपयोग गर्न र नेपाललाई संसारकै उत्कृष्ट गन्तव्य बनाउने दिशामा लैजान सफलता मिलोस्।
सधैँ नेपाल र नेपालीको भलो चाहने,
सुशील खनाल (हाल ग्लासगो स्कटल्याण्ड, बेलायत |संसारभर जहाँ भए पनि, आफ्नो देशप्रति गर्व गर्ने एक नेपाली)
स्वीजरल्याण्ड का केहि तस्विर हरु



