काठमाडौं, नेपाल । पूर्वप्रधानमन्त्री के. पी. शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले आइतबार उक्त आदेश दिएको हो। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार अनुसन्धानका लागि आवश्यक देखिएकाले दुवै जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति प्रदान गरिएको हो।
भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अनुसार अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको थियो। सोही सिफारिसलाई प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले शुक्रबार कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
निर्णयपछि शनिबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। आइतबार म्याद थपका लागि पूर्वप्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट भर्चुअल माध्यममार्फत अदालतमा उपस्थित गराइएको थियो भने पूर्वगृहमन्त्री लेखक स्वयं अदालतमा उपस्थित भएका थिए।
