महसुल नतिर्ने थप १८ उद्योगको विद्युत लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको विद्युत् उपभोग गरेर महसुल नतिरेका थप १८ उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरणले शुक्रबार थप १३ उद्योगको लाइन काटेको हो ।

प्राधिकरणले हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टील, श्याम प्लास्टिक, गोयन्का फूड्स, एसआर स्टील, पञ्चकन्या प्लास्टिक, भलवारि स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेष्ट रोलिङ, घाराना फूड्स, विशाल सिमेन्ट, एसआर फूड्स, सिद्वार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोना मिनरलस एण्ड आयल्स र निगाले सिमेन्टको विद्युत लाइन काटेको छ ।

यसअघि गत मङ्गलबार प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको थियो ।

यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन प्रयोग गरेबापतको थप महसुल तिरेका छैनन् ।

प्राधिकरणले असोज १२ मा प्रशासकीय पुनरवलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै कात्तिक १७ भित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइएको छ । असोज १३ मा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन पुनः सूचना जारी गरेको थियो ।

सूचना जारी भएपछि २८ महिनाको किस्ताबन्दी सुविधाको प्रयोग गर्दै हामा आइरन एन्ड स्टील, सर्वोत्तम सिमेन्ट, हुलास स्टील, अशोक स्टील, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.