उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न

बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ समापन भएको छ। मिथिलाञ्चलवासीले नदी किनारमा बसी उदाउँदो सूर्यको पूजा-आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य  दिएर छठ सम्पन्न गरेका हुन्।

कार्तिक शुक्ल चतुर्थीमा ‘नहाय खाए’ विधिबाट शुरु हुने छठ सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूरा हुने विधि छ। यसअघि छठको मुख्यदिन षष्ठीको साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।

षष्ठीको साँझ दिइने अर्घ्यलाई ‘सन्ध्या अर्घ्य’ र बिहान दिइने अर्घ्यलाई ‘उषा अर्घ्य’ भनिने ‘द स्पिरिट अफ छठ फेस्टिवल’का लेखक जीवेश झाले बताए। उनका अनुसार व्रत बसेर सूर्यदेव र छठीमाताको पूजा, आराधना गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने, परिवारका सम्पूर्ण सदस्यलाई सुस्वास्थ्य तथा दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ।

मिथिलाञ्चलमा चैतमा पनि छठ मनाइन्छ। तर कार्तिकमा पर्ने छठलाई विशेष महत्त्व दिइन्छ। मिथिला मूल थलो भएकाहरूको बसाइँसराइसँगै यो पर्व अचेल काठमाडौँ उपत्यकालगायतका स्थानमा समेत धुमधामसँग मनाइन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.