धनुषामा यात्रुबाहक बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकै परिवारका तीनजनासहित चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्।
शनिबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक दुर्घटना भएको हो। विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र. ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो।
दुर्घटनामा अटोरिक्सा सवार गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर, र अटोरिक्सा चालक ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए।
सोही अटोरिक्सा सवार १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।
