‘जेन–जी मुभमेन्ट’ ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । भारतको पीटीसी इन्डिया लिमिटेडसँग भएको विद्युत् खरिद–बिक्री सम्झौतामा ४३ करोड रुपैयाँभन्दा बढी नोक्सान हुने गरी मिलेमतो भएको आरोप लगाउँदै मुभमेन्टले यो माग अघि सारेको हो ।
मुभमेन्टका प्रवक्ता विजय साहले कात्तिक २५ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ,
‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सबै विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’
विज्ञप्तिमा राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यको सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न पनि माग गरिएको छ । सरकारले माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।
