सभामुखलाई कांग्रेसको ब्रिफिङ : पार्टी प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जाँदैन

 नेपाली कांग्रेसले पार्टी प्रतिनिधिसभा पुनर्स्थापनाकाे पक्षमा नजाने जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ । आइतबार दिउँसो विघटित प्रतिनिधिसभाका सभामुख  घिमिरेलाई कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भेटेका थिए । भेटका क्रममा घिमिरेले पार्टीमा प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा  एक मत नभएकाले त्यसमा जान नसकिने बताएका हुन् ।

अनौपचारिक भेटमा घिमिरेले पार्टीभित्र इतर समूह र महामन्त्री गगन थापाले पुनर्स्थापनामा जान नमानेकाले पार्टीले पुनर्स्थापनामा जाने निर्णय नगर्ने जानकारी गराएका हुन् । ‘पुनर्स्थापनाका पक्षमा पार्टीभित्र एक मत भएन । डा.शेखर कोइराला समूह र महामन्त्रीज्यूहरू पुनर्स्थापनाको पक्षमा देखिनुभएन,’ घिमिरेले भनेका थिए, ‘त्यसैले पार्टीले पुनर्स्थापनाको पक्षमा निर्णय नलिने भयो ।’

घिमिरेले सभामुखसँग भेटेपछि पार्टी नेताहरूलाई कांग्रेसले पुनर्स्थापनाको पक्षमा निर्णय नलिने जानकारी सभामुख घिमिरेलाई गराएको बताएका एक नेताले जानकारी दिए । एमाले प्रमुख सचेतक बर्तौलाले सभामुखसँगको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको जानकारी दिए ।

‘औपचारिक भेटघाट होइन । हामीले नै आउँछौ भनेर सभामुखज्यूलाई भेट्न गएका थियौँ,’ बर्तौलाले रातोपाटीसँग भने– ‘प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा कुराकानी भएन । वर्तमान राजनीतिबारे सभामुखले सोध्नुभयो । हामीले अहिलेको अवस्थाबारे ब्रिफिङ गर्‍यौँ ।’

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले घिमिरे र बर्तौलाले सभामुखलाई भेटेको बताउँदै कुराकानीका विषयमा भने आफूलाई जानकारी नभएको बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.