त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट क्यानलाई हस्तान्तरण

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापेट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हस्तान्तरण गरिएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो। सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आज (आइतबार) साँझ ‘फ्लड लाइट’को ‘स्विच’ थिचेर क्यानलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा घिसिङले त्रिवि क्रिकेट रंगशाला नेपालमा चाँडोभन्दा चाँडो सम्पन्न भएको योजना हुन पुगेको बताए। उनले सरकारबाट दोस्रो चरणको स्तरोन्नतिका लागि १० अर्बको गुरुयोजना र ठेक्का प्रक्रियाका लागि स्वीकृति दिइसकेको जानकारी दिए।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि रंगशालामा नेपाली क्रिकेटप्रेमीको नेपालमै अन्तर्राष्ट्रिय क्रिकेट हेर्ने सपना पूरा हुने कामको सुरुआत भएको बताए। देशमा नै पहिलोपटक आधुनिक प्यारापेट र ६ वटा फ्लड लाइटसहित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रंगशाल एनपीएलको दोस्रो संस्करणको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयले हस्तान्तरण गरेको हो।

त्रिभुवन विश्वविद्यालयको आन्तरिक खेल मैदानका रुपमा रहेको मैदान २०५५ सालदेखि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका रुपमा विकास गर्ने काम सुरु भएको हो। देशमा क्रिकेट खेलको मोह बढ्दै गएपछि पूर्ववर्ती केपी ओली सरकारले गत २०८१ मङ्सिरमा मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा त्रिवि क्रिकेट रङ्गशालालाई प्यारापेट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रङ्गशालामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो।

यसअन्तर्गत पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापेट निर्माण र रात्रिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी ६ फ्लड लाइट जडान गरिएका हुन्। सरकारले बनाएको गुरुयोजनाअनुसार दोस्रो चरणमा कुल २५ हजार दर्शक अट्ने तथा अन्तर्राष्ट्रियस्तरका सबै आधुनिक क्रिकेट सुविधासहितको रंगशाला बनाइनेछ। 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.