प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा

सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ।

राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो। अधिवक्ता प्रेम सिलवालले दायर गरेको मुद्दाको सुनुवाइ यही ७ मंसिरमा हुने गरी तोकिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

यसअघि सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत १६ कात्तिकमा अन्तरिम आदेश दिएको थियो।

अदालतको आदेश आएकै भोलिपल्ट सरकारले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो। अदालतको सम्मान र कानुनी शासनका पक्षमा मुद्दा दायर गरेको अधिवक्ता सिलवालले जानकारी दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.