बुटवल उपमहानगरपालिकाले संचालन गरेको छाडा चौपाया व्यवस्थापन कार्यक्रममा गाई-गोरुमाथि अमानवीय ढंगले कुटपिट गरिएको भन्दै धार्मिक संस्था ‘रुद्रगण’ ले गम्भीर आपत्ति जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “विशेषतः नगरप्रमुख श्री खेलराज पाण्डे स्वयम् उपस्थित रहेको अवस्थामा यस्तो घटना हुनु दुःखद र निन्दनीय विषय हो।”
रुद्रगणका अध्यक्ष कमल सापकोटाद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाले संचालन गरेको छाडा चौपाया व्यवस्थापन कार्य सराहनीय भए तापनि सोही क्रममा गाई-गोरुमाथि निर्दयीतापूर्वक गरिएको कुटपिट प्रति दुःख व्यक्त गरिएको छ। व्यवस्थापनको नाममा गरिने यस्ता क्रूर व्यवहार मानवता, संवेदनशीलता र सनातन धर्म-संस्कृति विपरीत कार्य भएको संस्थाको ठहर छ।
रुद्रगणले यस घटनाका सम्बन्धमा सम्बन्धित निकायले २४ घण्टाभित्र स्पष्टीकरणसहित सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने माग अघि सारेको छ। साथै, आगामी दिनहरूमा यस्ता अमानवीय घटना दोहोरिन नदिन र चौपाया व्यवस्थापनलाई संवेदनशील एवं व्यवस्थित बनाउन समेत उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ।

