माघ ०७ ।बुटवल
जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नम्बर ३ मा एक युवाको झुण्डिएर मृत्यु भएको छ। मालारानी गापाको खनदहका बासिन्दा अन्दाजी ३५-३६ वर्षका श्याम प्रसाद खनाल(फेरापाटा) आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

हिजो माघ ०६ गते बेलुकाको खाना खाएर आफ्नो कोठामा सुत्न गएका खनाल माघ ०७ गते बिहान अबेर सम्म नउठेपछि निजका कान्छा छोराले झ्याल बाट हेर्दा झुण्डिएको अवस्थामा देखेको र छरछिमेक तथा प्रहरी लाई खबर गरेको पाइएको छ। रोजगारीका लागि छिमेकी देश भारतमा रहेका र गत हप्ता मात्र स्वदेश आएका खनालका दुई छोरा रहेको र श्रीमती बुटवलमा रहेको प्रारम्भिक जानकारी ईलाका प्रहरी कार्यालय खनले गराएको छ। माघ ०७ गतेको बिहान अन्दाजी ९:१५ बजे घटना बारे प्रहरी लाई जानकारी आएपछि उक्त घटना स्थलमा प्रहरी पुगेको र शवलाई पोस्ट्मार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएको हो। घटनाको वास्तविक कारण अझै नखुलेको र सो बारे अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय खनले जनाएको छ।

