बारा, ५ बैशाख — लागु औषध नियन्त्रण ब्युरो पर्साको टोलि र ईलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले ठूलो मात्रामा गांजा बरामद गर्दै तीनजनालाई पक्राउ गरेको छ। ईलाका सिमराका डिएसपी सुभन्द्रा वाइवा तामाङ र ब्यूरोको संयुक्त अपरेसनमा वैशाख ४ गते राति गरिएको विशेष अपरेशनमा ३०० किलो गांजा बरामद भएको हो।
हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक र स्कर्टिङ गर्दै गरेको ना ३३ प ७४६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ट्रकभित्र रातो प्लास्टिकमा बेरिएका १९ वटा प्याकेटमा गांजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ट्रक चालक कैलास गाउँपालिका–४ का राजन लामा, ट्रकमा सवार हेटौडाका ईश्वर लोप्चन र मोटरसाइकल चालक जीवन ठोकर छन्।
डिएसपी वाइवाले सिमरा क्षेत्रमा फैलिएको लागू औषध कारोबारविरुद्ध कडा कारबाही जारी रहने बताउँदै समाज र युवाहरूलाई प्रहरीसँग सहकार्य गर्न आग्रह गरेकी छिन्। स्थानीयवासीका अनुसार वाइवा सिमरामा पदस्थापन भएको छोटो अवधिमा नै लागू औषध गिरोहमाथि ठोस कारबाही गर्दै प्रभावशाली उपस्थिति जनाउन सफल भएकी छन्। आगामी दिनहरुमा पनि यस्ता अपरेसन ब्यूरो र ईलाका को समन्वयमा निरन्तर रहि रहने जनाइएको छ।
