अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० को मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

उक्त क्षेत्र अफगानिस्तानको र पाकिस्तानको सीमाना पर्छ। भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको थियो।

६ म्याग्नेच्यूडको कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीन पराकम्प पनि आएका थिए।

समाचार एजेन्सी एएफपीका अनुसार मृतकको संख्या बढ्न सक्नेछ। भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ।

तालिबान सरकारका अधिकारीहरूले राहत तथा उद्धार संस्थाहरूसँग सहयोगको अपील गरेका छन्। एजेन्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.