काठमाडौँ । स्वतन्त्र राजनीतिक अभियानका संयोजक तथा सामाजिक अभियन्ता डम्बर साहुलाई कर्णाली प्रदेशको प्रतिनिधित्व हुनेगरी मन्त्री दिनुपर्ने चर्चा आएको छ।
साल्यानको सिद्धकुमाख गाउँपालिका–१ का साहु विगत दुई दशकदेखि सञ्चार, जनसम्पर्क, कर्पोरेट तथा इभेन्ट व्यवस्थापन क्षेत्रमा सक्रिय छन्। उनले मास कम्युनिकेसन तथा पब्लिक रिलेशनमा स्नातकोत्तर गरेका छन् भने हाल Cross-border Media and Soft Power विषयमा पीएच.डी. गर्दैछन्।
साहु स्वतन्त्र उम्मेदवारी अभियान का राष्ट्रिय संयोजक हुन्। उनले स्थानीय चुनाव स्वतन्त्र र निर्दलीय हुनुपर्ने धारणा अघि सारेका थिए र काठमाडौंका बालेन शाह, धरानका हर्क साम्पाङ र धनगढीका गोपी हमालजस्ता स्वतन्त्र उम्मेदवारलाई जिताउन प्रमुख भूमिका खेलेका थिए।
व्यावसायिक जीवनमा उनले १० वर्षभन्दा बढी पत्रकारिता, सञ्चार गृह सञ्चालन, ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी र सम्मेलन आयोजना गरेका छन्। साथै, उनले एशिया युथ आइकन अवार्ड (भारत, २०१७), दक्षिण एशिया युथ लिडरशिप अवार्ड (बंगलादेश, २०१९) लगायतका सम्मान पाएका छन्।
उनी कुनै राजनीतिक दलसँग आवद्ध नभई स्वतन्त्र अभियन्ताको भूमिकामा सक्रिय रहेका छन्।
