भीमफेदी कारागारबाट भागेका कैदीको नवलपुरमा ह*त्या

नवलपुरको गैँडाकोट नगरपालिका–४, धारापानीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका युवक जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका कैदी भएको पुष्टि भएको छ। भीमफेदी कारागार प्रशासक सुवास पौडेलका अनुसार कुमाल भदौ २५ गते कारागारबाट भागेका थिए। 

गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहारबाट घाइते कुमाललाई उपचारका लागि गैँडाकोट सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएकोमा चिकित्सकले सवा ११ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो।  

सामान्य झैँझगडाका आधारमा कुमालको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको खड्काले बताउनुभयो। कुमालकी दिदीले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो। उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराइने उहाँको भनाइ छ।

कुमालको वास्तविक ठेगाना भने कालिका नगरपालिका–४, पदमपुर, चितवन रहेको कारागार प्रशासक पौडेलले बताउनुभयो। उनी जबरजस्ती करणी मुद्दामा २०७४ साल साउन ३ गते पक्राउ परेका थिए। उक्त कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.