काँग्रेस युवा नेताहरूको चेतावनी- महाधिवेशन नभए वैकल्पिक बाटो खोज्छौँ

नेपाली काँग्रेसका युवा नेताहरूले पार्टी नेतृत्वलाई तत्काल महाधिवेशनको निर्णय लिन चेतावनी दिएका छन् ।

केन्द्रिय समितिले विशेष महाधिवेशनको निर्णय नगरे वैकल्पिक बाटो खोज्ने उनीहरूको स्पष्ट सन्देश छ ।

काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर युवा भेलामा नेतृत्वको ढिलासुस्ती र अनिर्णयप्रति आक्रोश पोख्दै युवाहरूले पार्टीभित्र परिवर्तनको मागलाई तिब्र बनाएका छन् ।

युवा नेता सचिन तिमिल्सिनाले नेतृत्वको व्यवहार परिवर्तन नगरे संगठन कमजोर बन्दै जाने चेतावनी दिए ।

उनले केन्द्रीय बैठकहरू डेढ–दुई महिनासम्म लम्ब्याउने प्रवृत्तिमाथि आपत्ति जनाए । ‘भनिन्छ इन अफ इज इन अफ । पुग्यो हामीलाई यस्तो नेतृत्व । नाटक बन्द गरौँ ! देशमा १९ जना मारिँदा पनि केही नभएजस्तो गरेर बैठक लम्ब्याउने ? समाधान गुण्डुमा खोज्ने हो भने हामीले पनि विकल्प सोच्छौँ । आजको युवा जे भन्यो त्यही मान्दैन !’ उनले भने ।

मोती भण्डारीको चेतावनीः ‘कार्यकर्ताले हिसाव माग्नेछन् !’

युवा नेता मोती भण्डारीले एउटा व्यक्तिको वरिपरि शक्ति केन्द्रित गर्ने र परिवर्तन रोक्ने नेताहरूमाथि आक्रोश व्यक्त गरे ।

तल्लो तहका कार्यकर्ताहरूको आक्रोश बढ्दै गएको भन्दै उनले नेतृत्वलाई सचेत गराए । ‘केन्द्रिय बैठक चलिरहँदा पनि अनिर्णयको बन्दी बनाउने हो भने निर्वाचन वा महाधिवेशनमा तल्लो तहका कार्यकर्ताले तपाईंहरूको हिसाव माग्नेछन्। यो कुरा याद राख्नुहोस् !’ उनले भने

महाधिवेशन प्रतिनिधि पुनम लामाले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग विधानसम्मत रहेको स्पष्ट पारिन् । ‘हाम्रो पहिलो माग विशेष महाधिवेशन हो । यो भावनात्मक होइन, विधानले दिएको अधिकार हो । ५४ प्रतिशत हस्ताक्षरले यो पुष्टि गर्छ’ उनले भनिन् ।

काँग्रेस युवाले नेतृत्वलाई विशेष महाधिवेशनको प्रक्रिया तत्काल अघि बढाउन दबाब दिएका छन् । अन्यथा पार्टीभित्र नयाँ बाटो खोज्ने उनीहरूको चेतावनीले काँग्रेसभित्र नयाँ तरंग सिर्जना गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.