राजनीतिक अस्थिरताले अर्थतन्त्र धराशायी : प्रकाशचन्द्र लोहनी

पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले मुलुकको राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् । अर्थतन्त्रको वर्तमान अवस्थाबारे आयोजित एक छलफलका क्रममा उनले यस्तो बताएका हुन् । सरकारसँग पैसा नभएको गुनासो एकातिर भए पनि भएको स्रोतसमेत उपयोग हुन नसक्नु चिन्ताको विषय भएको उनको भनाइ छ ।

निजी क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाउँदै लगे पनि लगानी आकर्षित हुन नसकेकोमा डा. लोहनीले गहिरो चिन्ता व्यक्त गरे । उनले भने, “बैंकको इन्ट्रेस्ट रेट एक अंकमा आइसकेको छ । तर पनि अझै बढी भएको गुनासो आउने गरेको छ । लगानीका लागि मानिसहरू आकर्षित भएका छैनन् ।” उनले नेपालको अर्थतन्त्रको मोडेल रेमिट्यान्समै आधारित भए पनि त्यसको उचित सदुपयोग हुन नसकेको बताए । नेपाल सरकारको पैसालाई कसरी अधिकतम उपयोग गर्ने भन्ने नै अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ छ ।

“नेपाल सरकारसँग पैसा छैन भनिन्छ, तर भएको पैसा पनि खर्च हुँदैन । पैसा छैन भनेर कटौति गरिरहेका छौँ । यो गर्नुपर्ने कुरा पनि हो । तर जति छ त्यो पनि खर्च हुँदैन”, उनले थपे, “प्राइभेट क्षेत्रलाई प्रोत्साहन गर्नुपर्‍यो भन्दा इन्ट्रेस्ट घटाउनु सबैभन्दा ठूलो कुरा हो । संसारमा इन्ट्रेस्टको सानो घटबढले गर्दा कति निजी लगानीमा असर गर्दछ । इन्ट्रेस्ट एक अंकमै आइसक्यो, तर बढी भइरहेको छ । युज भएको छैन । साधन छ पनि, साधन छैन पनि । यो एक दिनमा आएको पनि होइन । हाम्रो इकोनोमिक मोडल रेमिट्यान्समै भए पनि हामीले त्यसलाई युज गर्न सकेनौँ । एक्सपोर्टमा लगाएनौँ । अहिलेको यो स्थितिमा आइपुग्यौँ । नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने यो चुनौती छ ।”

डा. लोहनीले नेपाल कस्तो ‘लिक्विडिटी ट्रयाप’ मा परेको हो भन्दै प्रश्न गरे । उनले जति ब्याज घटाए पनि लगानीकर्ता आकर्षित नहुनुको पछाडि राजनीतिक वातावरण मुख्य कारण भएको औँल्याए । “जति ब्याज घटाए पनि मान्छे नआउने ? त्यो वातावरण बनाइदिने राजनीतिले हो । राजनीतिक तह कमजोर भएपछि अर्थतन्त्रले मात्रै काम गर्दैन”, उनले जोड दिए ।

पूर्वअर्थमन्त्री डा. लोहनीले अहिलेको परिस्थितिमा कमजोर हुनु नै संकटको घडी भएको जिकिर गरे । उनले राष्ट्र बैंकमा अहिलेसम्म नेपालीहरूको धेरै विश्वास रहेको र राष्ट्र बैंक धेरै राजनीतिकरण नभएको संस्था भएको बताए । उनले राष्ट्र बैंकले आफ्नो स्वायत्तता कायम राख्दै अर्थतन्त्रलाई सही दिशामा डोर्‍याउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.