जेन–जी आन्दोलनपछि उठेको भ्रष्टाचारविरोधी आवाजलाई साथ दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता शेरधन राईले वि.सं. २०४६ यताका सबै नेताको सम्पत्ति छानबिन आफैँबाट सुरु गर्न सरकारलाई चुनौती दिएका छन् ।
त्यस यताका मन्त्री, सांसद र राजनीतिक नियुक्ति पाएका एमालेका सबै नेताको सम्पति छानविन गर्नुपर्ने उनको माग छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा राईले छानबिन नगरी आधारहीन आरोप लगाउन नमिल्ने धारणा व्यक्त गरेका हुन् ।
सरकारले फागुन २१ गते तोकेको प्रतिनिधिसभा निर्वाचन वर्तमान अवस्था यथावत रहेमा सम्पन्न हुन नसक्ने राईको भनाइ छ । सरकार निर्वाचन गराउनेतर्फ जिम्मेवारढङ्गले अघि नबढेको आरोप लगाउँदै उनले ठूलो दललाई निषेधको दिशामा सरकार लागेको टिप्पणी गरे । आन्दोलनका क्रममा हजारौँ हतियार र कैदीहरू भागे पनि खोजतलासमा सरकार गम्भीर नभएको उनको आरोप छ ।
जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूति दिन नसक्नु सरकारको कमजोरी भएको राईले बताए । देशमा देखिएको राजनीतिक संकट समाधानका लागि संसद पुनःस्थापना अपरिहार्य रहेको नेता राईको भनाइ छ ।
जेन–जेड पुस्ताले उठाएको भ्रष्टाचार नियन्त्रणको मुद्दाको पक्षमा एमाले रहेको बताउँदै उनले घुसपैठका कारण देशमा विधंश मच्चिएको धाराणा राखे । उनले जेन–जेड पुस्ताले उठाएको भ्रष्टाचारविरुद्धको मुद्दामा एमाले स्पष्ट समर्थनमा रहेको बताए ।
हाल देशमा देखिएका बेथितिको नियन्त्रणका लागि एमालेले देशव्यापी खबरदारी सभा सञ्चालन गरिरहेको जानकारी दिँदै उनले भोजपुरमा पनि शनिबार जनप्रदर्शन तथा कार्यकर्ता भेलाको आयोजना गरिएको बताए । राष्ट्र, राष्ट्रियता र देशका उपलब्धीको सुरक्षाका लागि एमाले एक्लै मैदानमा निस्किएको भन्दै उनले सबै लोकतान्त्रिक शक्तिलाई साथ दिन आह्वान गरे ।
