फरार प्रतिवादीहरु प्रति निर्मम हुदै पर्वत प्रहरी

पर्वत, १९ पुस। पछिल्लो समय पर्वत प्रहरीले फरार प्रतिवादीहरूलाई धमाधम पक्राउ गर्न सुरु गरेको छ। अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाय पाएका फरार व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो। पुस महिनाका १९ दिनभित्र मात्रै २९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्र. नि. रामप्रसाद सापकोटाले जानकारी दिएका छन्। उनका अनुसार चालु आर्थिक वर्ष ०८१/०८२ को पुस १९ गतेसम्म ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख डीएसपी रविन विष्टले शान्ति सुरक्षामा चुनौती पुर्‍याउने गरी फौजदारी अपराधमा दोषी ठहर भई सजाय पाएका व्यक्तिहरू समाजमा खुल्ला घुमिरहेका भन्दै उनीहरूमाथि कडा कदम चालिएको बताएका छन्। अदालतबाट निर्णय भएका फौजदारी र देवानी प्रकृतिका मुद्दामा फरार रहेका प्रतिवादीलाई खोज तलास गरी पक्राउ गर्ने कार्य तीव्र रुपमा भइरहेको बताएका छन्।वर्षौंअघि फरार भएका प्रतिवादीहरूले आफ्नो हुलिया, पहिचान, पेशा र ठेगाना परिवर्तन गरेर बस्ने गरेका कारण उनीहरूलाई पक्राउ गर्न चुनौती भए पनि प्रहरी दिनरात खटेर काम गरिरहेको डीएसपी विष्टले बताए।

कानुनी शासन र विधिको पालना सुनिश्चित गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा दैनिक रूपमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी सजाय भुक्तानका लागि अदालतमा प्रस्तुत गर्ने कार्य भइरहेको छ।प्रहरीका अनुसार चालु आर्थिक वर्षको लगभग नौ महिनामा २४ लाख ५९ हजार रुपैयाँ जरिवाना असुली र ३६ वर्ष ११ महिना ९ दिन कैद सजाय कार्यान्वयनका लागि ६८ जनालाई पक्राउ गरिएको छ। तथ्यांकअनुसार, साउनमा २ जना, भदौमा ३ जना, असोजमा १ जना, कात्तिकमा १३ जना, मंसिरमा २० जना र पुसमा २९ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पछिल्लो केही महिनामा पर्वत प्रहरीले आफ्नो सक्रियता उल्लेखनीय रूपमा बढाएको देखिन्छ।

डिएसपी रबिन बिष्टले करिब ३ महिना देखि पर्वत प्रहरी को कमाण्ड समालेका छन् । बिष्टले दण्डहिनता अन्त्य गर्ने उद्देश्यसहित जरिवाना तथा कैद सजाय पाएका फरार व्यक्तिहरूबारे जानकारी भएमा सूचना उपलब्ध गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्वतले सर्वसाधारणलाई आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.