बेलायतमा पहिलो पटक थारु समुदायद्वारा माघी पर्वको भव्य आयोजना

लन्डन, जनवरी १४, २०२५


थारु कल्याणकारीणी सभा, यूकेले पहिलो पटक बेलायतस्थित रोयल बरोमा थारु समुदायको मौलिक र सांस्कृतिक पर्व माघी भव्य रूपमा मनाएको छ। यो पर्व १४ जनवरी २०२५ मा मनाइएको हो। “आफ्नो पहिचान र संस्कृति प्रवर्धन गरौं, यूकेमा पहिलो पटक माघी पर्व मनाऔं” भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न भएको हो।

माघी पर्व थारु समुदायको प्रमुख सांस्कृतिक तथा परम्परागत पर्व हो। यस दिन थारु समुदायले आफ्नो नयाँ वर्षको आरम्भसँगै सामाजिक, पारिवारिक, र सामुदायिक संरचना पुनर्संयोजन गर्दछ। यस अवसरमा नयाँ योजना बनाउने, पारिवारिक संरचनाको समीक्षा गर्ने, पुराना गल्तीहरू सुधार्ने, र आगामी वर्षलाई अझ राम्रो बनाउने संकल्प गरिन्छ। माघीले परम्परागत परिकार, नृत्य, गीत, र सांस्कृतिक गतिविधिहरूको माध्यमबाट समुदायलाई एकता र समर्पणको भावनामा बाँध्ने काम गर्दछ।

यो कार्यक्रम थारु कल्याणकारीणी सभा, यूकेले किर्कहाम स्ट्रिट, प्लम्सटेड भन्ने स्थानमा आयोजना गरेको थियो। कार्यक्रमको मुख्य अतिथि जित रानाभाट, मेयर अफ रोयल बरो अफ ग्रिनिच, रहेका थिए।
कार्यक्रम दिउँसो १ बजे शुरू भएर साँझ ६ बजेसम्म चलेको थियो। प्रशान्त चौधरी कार्यक्रमका संचालक रहेका थिए भने स्वागत मन्तव्य कोपिला र लक्ष्मी चौधरी लगायतले व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता थारु समुदायका कवि कुश्मैवाले गरेका थिए।

कार्यक्रममा थारु समुदायका परम्परागत पोशाकहरूको प्रदर्शनी गरिएको थियो। पूर्व, मध्य, र पश्चिम नेपालको थारु समुदायका भिन्न-भिन्न परम्परागत पोशाकले सबैको ध्यान आकर्षित गरेको बताउछिन लक्ष्मी चौधरी। खाना व्यवस्थामा थारु समुदायका विशेष परिकारहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा थारु समुदायका ८० भन्दा बढी व्यक्तिहरूको उपस्थिति थियो। यसमा थारु बाहेक अन्य समुदायका व्यक्तिहरूको पनि सक्रिय सहभागिता रहेको थियो। बेलायतका ४ वटा देशका विभिन्न शहरहरूबाट थारु युवा युवतीहरु सहभागी भएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले लन्डनको प्रसिद्ध टावर ब्रिज अगाडि सामूहिक फोटो खिचेर उत्सवलाई थप सम्झनायोग्य बनाएका थिए।

आयोजकका अनुसार यो पहिलो कार्यक्रम भए पनि अपेक्षा भन्दा राम्रो भएको र भविष्यमा यसलाई अझ प्रभावकारी र भव्य बनाउने योजना रहेको बताए। यसले बेलायतमा रहेका थारु समुदायलाई आफ्नो जरा सम्झने र युवा पुस्तालाई संस्कृतिबारे शिक्षित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। माघी पर्वको यो भव्य उत्सवले थारु समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मार्ग प्रशस्त गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.