सर्लाही, ३१ चैत – सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–११ हिरापुरबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय लालबन्दीको विशेष टोलीले मिति २०८२ साल वैशाख ३ गते करिब २३:०० बजे उक्त लागू औषधसहित एकजनालाई प्रक्राउ गरेको हो। विशेष सूचनाका आधारमा गरिएको अपरेशन अन्तर्गत प्रहरीले जम्मा २४४.२०० किलो ग्राम गाँजा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले मरिनबाट लालबन्दी तर्फ गाँजा ओसार–पसार भईरहेको गोप्य सूचनाको आधारमा चेकप्वाइन्ट स्थापना गरी निगरानी थालेको थियो। सोही क्रममा बा २० च १७८२ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच टोलीलाई देखेपछि अनियन्त्रित गतिमा भाग्न खोजेपछि प्रहरी थप सतर्क बनेको थियो। चेकप्वाइन्टबाट भाग्न सफल हुन नदिने रणनीति अनुरूप प्रहरीले हिरापुर नजिकै सघन चेकजाँच गरी उक्त गाडीलाई नियन्त्रणमा लिएको हो।

गाडी जाँच गर्दा धानको भुसको बोरा मुनि रातो प्लास्टिकमा प्याक गरी राखिएको अवस्थामा ४५ वटा पोका फेला पारिएको थियो, जसमा २४४.२०० किलो ग्राम प्रतिबन्धित लागु औषध गाँजा जस्तो देखिने पदार्थ लुकाइएको थियो। सोही गाडीका चालक सर्लाही लालबन्दी नगरपालिका–१, नवलपुर निवासी अन्दाजी २५ वर्षीय सुशिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। लागू औषध लुकाइछिपाई तस्करी गर्न खोजिएको तरिकाले प्रहरीले यसमा संगठित गिरोहको संलग्नता हुन सक्ने अनुमान गरेको छ।

प्रहरीले बरामद गरिएको गाँजा र पक्राउ परेका व्यक्तिको विषयमा १२ दिन म्याद थप गरि अनुसन्धान जारी रहेको जानकारी दिएको छ। लागू औषध ओसारपसार र तस्करीविरुद्ध सशक्त कारबाही गर्ने लक्ष्यसहित प्रहरीले निगरानी र सुराकी तन्त्रलाई अझ प्रभावकारी बनाउँदै लगिएको बताइएको छ। यसरी भएको कारबाहीलाई प्रहरीले ठुलो उपलब्धिका रूपमा लिएको छ भने स्थानीय तहमा लागूपदार्थ नियन्त्रण अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता समेत जनाइएको छ। लागु औषध नियन्त्रण प्रहरीको मात्र प्रयासले असम्भव प्राय छ। लागु औषध तथा अपराध न्यूनीकरण र समाजलाई अनुशासित बनाउन लागु औषध नियन्त्रण गर्न अति आवश्यक रहेको प्रहरीको ठहर छ।
