लन्डन,
बेलायत — बेलायतमा आयोजित प्रतिष्ठित खेल तथा सांस्कृतिक उत्सव ‘गोर्खा कप २०२५’ को अवसरमा मनोक्रान्ति UK को आयोजनामा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली साहित्यकार अन्जु न्यौपानेको तेस्रो उपन्यास ‘सेतो एप्रोन’ को विमोचन गरिएको छ।उक्त कृति प्रमुख अतिथि डा. योगी विकासानन्द र विशिष्ट अतिथि कमलेश्वरी ज्यु को हातबाट लोकार्पण गरिएको थियो। अन्जु न्यौपानेले यसअघि ‘मोड’ र ‘लुकेको वासना’ जस्ता चर्चित कृतिहरू पाठकमाझ ल्याइसकेकी छिन्। ‘सेतो एप्रोन’ स्वास्थ्य क्षेत्रको अनुभव र मानवीय संवेदनाहरूमा आधारित उपन्यास हो, जसमा उनले नेपालका गल्लीहरूदेखि बेलायतको शहरसम्मको भावनात्मक यात्रा समेटेकी छिन्।

विमोचन समारोहमा बोल्दै अन्जुले भनिन्, “यस महत्वपूर्ण समयमा मैले नेपाल, मेरो परिवार, काम गरेको मेडिकल कलेज, कोहलपुरका गल्लीहरू, नीलसागर आश्रम, आदरणीय साहित्यकारज्यूहरू र आफन्तजन सबैलाई सम्झिरहेकी छु।”
उनको कृति गुरुदेव डा. योगी विकासानन्द तथा गुरुमा कमलेश्वरी गुरुमाको हातबाट विमोचन हुनुले कार्यक्रमलाई अझ गौरवपूर्ण बनाएको थियो। उनले कार्यक्रमको सम्भावना सिर्जना गरिदिनु भएकामा आयोजक तथा सहयोगी हरु प्रति विशेष आभार व्यक्त गरिन्।

कार्यक्रममा बेलायतस्थित नेपाली साहित्य, कला र समाजसेवामा क्रियाशील व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अन्जुले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउने सबैप्रति हार्दिक नमन र धन्यवाद व्यक्त गरेकी छिन्।
‘सेतो एप्रोन’ पाठकमाझ नवीन दृष्टिकोणसहित उपस्थित भएको उपन्यास हो र यसको सफल विमोचनले नेपाली साहित्यिक क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गरेको छ।
