असमानताका विरूद्धको घोषणापत्र हो उपन्यास ‘सेतो एप्रोन’: गणेश नेपाली

सेतो एप्रोन अन्जु न्यौपानेको उपन्यास कृति हो । नेपालमा नर्सिङ अध्ययन गरी देशको सेवा गरौँला र बुवा आमाको सपना पूरा गरौँला भन्ने सुन्दर अभिलाषा लिएका चेलीहरूको वास्तविक भोगाई मात्र होइन स्वयं नर्सिङ सेवा गरिसकेकी कृतिकारको साहासिक, विद्रोही वयान हो, सेतो एप्रोन । छोरीलाई ऋण काढेर भएपनी लाखौँ खर्च गरेर सामान्य परिवारले पनि नर्सिङ पढाउछ्न् । पढिसकेपछी रोजगारी पाउन पनि सकस र पाएपछी प्राइभेट अस्पतालहरूमा हुने श्रम शोषण, अस्पताल प्रशासनको चरम मालिकाना हर्कत र दास जस्तै गरिने व्यवहारलाई दुनियाँ सामु ल्याइदिएकी छन् ।

ड्युटीका बेला नर्सहरूले लगाउने सेतो पोशाक एप्रोन भित्र कति विवशता , बाध्यता, पीडा, गुनासा, उकुसमुकुस, नैराश्यता लुकेका छन् , भोग्नेलाई मात्र थाहा छ । तर अन्जु न्यौपानेले जगजाहेर गरिदिएर पिडक, शोषक, विभेदकारीहरूको चेहराको मुकुण्डो च्यातिदिएकी छन् । यो उपन्यास तिनै अस्पतालहरूमा कार्यरत नर्सहरूले पढेछन भने अन्जु न्यौपाने प्रति आभार व्यक्त गर्ने नै छन् । त्यस्ता मालिक मोटाउने मजदुर दुब्लाउने संस्थाका कारोवारीहरूले अन्जु न्यौपानेलाई आखाको कसिंगर ठान्ने छन् । सबै परिणाम सामना गर्ने साहसका साथ उनले यो उपन्यास लेखेको ठहर्छ ।

पटक पटक पारिश्रमिक वृद्धिका लागि आन्दोलन हुन्छन् र वार्ताका नाममा टालटुल पार्ने आन्दोलनलाई तुहाउन अस्पताल प्रशासन सफल भएको छ । अस्पतालमा कार्यरत नर्सहरू रोजगार रहेको देखिन्छ । तर उनीहरूको तलबले उनीहरू स्वयं एक्लो जीवन निर्वाह गर्न पनि नसक्ने अवस्थामा हुन्छन् । त्यसमाथि पढ्दा लिएको ऋण तिर्नुपर्ने जिम्मेवारी, घरपरिवारको सपना भरोसा सबै तलबमा आश्रित हुनुपर्ने हो तर रोजगार र तलब नखाउ भने दिनभरीको सिकार खाउ भने कान्छोबुवाको अनुहार भएको छ ।

अर्को तर्फ सामाजिक रुपमा नर्सप्रतिको दृष्टिकोणले पनि अहोरात्र विमारीको सेवामा खट्ने नर्सहरूलाई उत्साही बनाएको देखिदैन । एकछिन देखिने र औषधि लेखेर जाने डाक्टर प्रति अथाह श्रद्धा र सम्मान हुने , रोगीको साथमै रहने औषधि खुवाउने देखि रोगीलाई सबै उपचार गरिदिने नर्स प्रतिको उपेक्षा भावले नर्सहरूको चित्त दुख्नु स्वभाविक हो उपन्यासमा उल्लेख भएको यो विषय आम सेवाग्राहीले मनन गर्नु पर्ने र जसले बढी सेवा गरेको छ त्यसप्रति परम्परागत दृष्टिकोणमा समेत परिवर्तन हुनुपर्ने देखिन्छ ।

कोरोनाको बेला नर्सहरूले गरेको कोभिड संक्रमितको सेवा र उपचारको जति प्रशंसा र स्तुति गरे पनि कम हुन्छ । तर नर्सलाई कोभिड कम गर्ने भनी बुझ्न नसकेको समाजले उनीहरूबाट कोभिड सर्छ भनेर घरमा डेरा गरि बसेका नर्सलाई डेराबाट निकालेको निरीहता , किम्कर्तव्यविमुढ हुनु, लाचार हुनु , अपमानित हुनु, बिलखबन्दमा परेको र एक्लिनुको पीडामा रुनुपरेको नर्सको भोगाइ उपन्यासमा मार्मिक ढंगबाट चित्रण भएको छ ।

अर्को तर्फ डाक्टर अभिषेकको प्रेममा उसको दिवानापनले उसलाई जेसुकै गर्ने हदसम्म पुर्‍याउछ तर संयोगवस उसको हातबाट हुन गैरहेको अपराध नियतिले प्राकृतिक रूपमै गराउदा उ अपराधी हुनबाट जोगिन्छ । सायद उसको प्रेम साँचो थियो होला । त्यसकारण उ जोगिन्छ । तर आफ्नो निर्णयप्रति पाश्चातापले जलिरहन्छ । जसलाई प्रेम गर्छ नर्स तेजस्वीसंग व्यक्त गर्न डराइरहन्छ । व्यक्त नगरिएकै कारण उसको र तेजस्वीको प्रेम रहस्यकै गर्भमा रहिरहन्छ । उपन्यासमा प्रेमलाई परम्परागत आख्यान लेखनदेखि पृथक ढंगबाट उठान गरिएको छ । तेजस्वीको पेशाप्रतिको समर्पण र विरामीको सेवा गराइले आफ्नो प्रेम विरामीले नै खोसेको आभास डा. अभिषेकलाई हुनु र नियतिले ठिक हुनै लागेको विरामीको मृत्यूले तेजस्वी र उसकी सथी नर्सको जीवनले अर्कै मोड लिन्छ । दुबैले अस्पताल छोड्छन् ।

गरिबीसँग जुधिरहेकी तेजस्वीकी साथी नर्स अप्सरा देशमै बसेर स्वास्थ्यसेवा गर्ने कुनै हालतमा पनि विदेश नजाने निर्णय गरेर प्राइभेट अस्पतालमा काम गरेर आमाबुवाले पढाउदा लिएको ऋण तिर्न त परै जाओस सामान्य जीवनयापन पनि गर्ने अवस्था नआएपछी विदेश जान बाध्य हुन्छे । उसलाई विदेश जान उसकी साथी धनाढ्य बुवाआमाकी छोरी तेजस्वीले सहयोग गर्छे । विदेश जादा प्यारो जन्मभूमि नेपाललाई छोडेर जाने इच्छा नहुदा पनि देशमा गरि खान नदिइएको अवस्थाले हो भनी भावुक भएर देशलाई अलविदा भन्नू पर्दा अप्सराको मन कुडिन्छ । बाध्यता जे हो त्यही गर्नुपर्छ , अप्सराले नि त्यही गर्नुपर्‍यो । उपन्यासमा कल्पना मात्र छैन वास्तविकता बढी छ । असमानताका विरूद्धको घोषणापत्र हो सेतो एप्रोन । मजदूर चुसेर मोटाएका मालिकहरूलाई खबरदारी हो सेतो एप्रोन । #kohalpur#follower#highlight

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.