गण्डकी बोर्डिङका ३ सय विद्यार्थी एकैचोटि बिरामी

 गण्डकी बोर्डिङ स्कुलको होस्टेलका करिब ३ सय जना विद्यार्थी बिरामी परेका छन्। बिहीबार रातिको खानाका कारण उनीहरुमा फूड प्वाइजन भएको आंशका छ।

खाना खाएको केही समयपछि अधिकांश विद्यार्थीमा झाडावान्ता, पखाला हुने, टाउको दुख्ने, पेट दुख्ने लक्षण देखा परेको थियो। उनीहरूलाई प्राथमिक उपचारका लागि स्कुल परिसरकै हेल्थ सेन्टर लगिएको थियो।

बिहीबार रातिदेखि शुक्रबार दिउँसोसम्म करिब ३ सय जना विद्यार्थीले प्राथमिक उपचार गरेको हेल्थ सेन्टरकी स्वास्थ्यकर्मी दुर्गा तिमिल्सिनाले जानकारी दिइन्। उनका अनुसार विद्यार्थीलाई तत्काल जीवनजल, पखाला रोक्ने औषधि, ग्याष्ट्रिकको औषधि चलाइएको छ।

विद्यालयका भाइस प्रिन्सिपल कृष्णबहादुर थापाले खानाकै कारण यस्तो भएको आशंका व्यक्त गरे। ‘म यहाँ कार्यरत् रहेको ३० वर्षजति भयो। अहिलेसम्म यस्तो ठूलो मासमा घटना भएको जानिएको थिएन,’ उनले भने, ‘अहिले बिरामी परेकामा त्यस्तो गम्भीर समस्या छैन। अधिकांश निको भइसकेका छन्।’ उनले खानाको गुणस्तरबारे जाँचका लागि पोखरास्थित खाद्य तथा गुणस्तर मापन केन्द्रमा पत्राचार गरिएको बताए।

विद्यार्थीले बिहीबार राति कुखुराको मासु खाएका थिए। मासु खाएकाहरु बिरामी परेका छन् भने पनीर खाएकालाई खासै समस्या नभएको पाइएको छ। पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङमा हाल करिब १२ सय जना विद्यार्थी पढ्छन्। तीमध्ये ५ सय ५० जना होस्टेल बस्छन्।

होस्टेल आवासीयरुपमा बस्दै आएका आफ्ना बाबुनानी एक्कासि बिरामी परेको खबरले अधिकांश अभिभावकले बच्चा घर लिएर गएका छन्। यहाँ छात्रा र छात्राका लागि १० वटा होस्टेलमा छन्।

धौलागिरि होस्टेलका शिक्षक दीपकराज पौडेलले विद्यार्थीहरु बिरामी परेपछि शुक्रबार होस्टेलका अधिकांशलाई कक्षाकोठामा नपठाई राखिएको बताए। धौलागिरिमा मात्रै ४५ जना विद्यार्थी छन्।

गुठीअन्तर्गत सञ्चालित गण्डकी बोर्डिङले चालु शैक्षिक सत्रदेखि विद्यार्थीलाई २५ प्रतिशतसम्म शुल्क बढाएको थियो। शुल्क बढेकोबारे अभिभावकले चर्को विरोध गरेकामा स्कुल प्रशासनले खानाको गुणस्तर बढाउने, शिक्षकको तलब वृद्धि गर्ने, भौतिक पूर्वाधार लगायतमा खर्चिने दाबी गरे पनि त्यस्तो नपाइएको भन्दै अभिभावकले आलोचना गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.