कार्तिक १५ ।बुटवल
नेपाल-भारत अन्तर जिल्ला सीमा समन्वय बैठक रक्सौलमा सम्पन्न भएको छ। आज मिति २०७९/७/१५ मा छिमेकी देश भारतको बिहार राज्य अन्तर्गत रक्सौलमा मंगलबार बसेको दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठक बसेको छ। उक्त बैठकले आगामी मङ्सिर ४ गते नेपालमा हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंसिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति गरेको छ।

भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (ब.सु.पूर्व र पश्चिम) का सीमा २०७९ मंसिर २ देखि ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको हो। सो बैठकमा प्रतिनिधि मण्डलको रुपमा नेपालको तर्फबाट नवलपरासी ब.सु.पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भारतका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी श्री सिरसत कपिल अशोकले जिम्मेवारी बहन गरेका थिए।

६ जिल्लाका प्र.जि.अ./स.प्र.जि.अ. तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरू सम्मिलित बैठकमा सूचना प्रेषणमा प्रभावकारिता, अन्तर सीमा अपराध नियन्त्रण (जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि) मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकापसमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल र समझदारी भएको छ । बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।
