काठमाण्डौ, २१ असोज ।
हमासले गरेको आक्रमणका कारण इजरायलको कृषि फार्ममा रहेका चितवनस्थित कृषि तथा वन विश्वविद्यालय रामपुरका ३४ जना विद्यार्थी बंकरमा फसेका छन् ।
विश्वविद्यालयबाट गएका सात कृषि फार्म मध्ये सोरासिम, साइड निटसन, रोगोलस्काइ कृषि फार्ममा गएका मध्ये ३४ जना विद्यार्थी जोखिममा परेका विश्वविद्यालय जनाएको छ ।
विश्वविद्यालयका योजना निर्देशनालयका निर्देशक शिवचन्द्र ढकाललका अनुसार विद्यार्थीहरु तीन समूहमा फरक फरक बंकरमा राखिएको छ । उनीहरु नजिकै रहेका कोठाबाट पानी र ड्राइ फुड खाएर ज्यान धानिरहेका छन् ।
आइतवार आज साँझ सुरक्षित स्थलमा जानको लागि झोला प्याक गर्न भनिएपनि पुनः सुरक्षा संयन्त्रले बाहिर निस्किए जीउकै जोखिम हुने भन्दै बाहिर निस्किनुभन्दा बंकर भित्रै बस्न सुरक्षित रहेको सूचना निकालेपछि उनीहरु उद्धार टोली कुरेर बसिरहेको छन् ।
गत भदौ १६ गते सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि तथा वन विश्वविद्यालयका अन्तिम वर्षका १ सय १९ जना विद्यार्थी इजरायल उँडेका हुन् । उनीहरु ११ महिनाको लागि इजरायल गएका थिए ।
स्रोतका अनुसार हाल इजरेलमा ४ हजार ५ सय नेपालीहरू केयरगिभरको रूपमा कार्यरत रहेको र २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा रहेको वताईइको छ ।

