प्यूठानका एक युवाले जनपद तर्फ ईन्स्पेक्टरको १ नम्बरमा नाम निकालेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले २०८१ असार ९ गते आइतबार जनपद तर्फको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) को अन्तिम नतिजा सार्वजनिक गरेको हो। सो नतिजा अनुसार कुल ९६ जनाले ईन्स्पेक्टर को अन्तिम नतिजामा नाम निकाल्न सफल भएका हुन्। साथै वैकल्पिकको खुल्ला तर्फ ८ जना, समावेशी महिला, आ. वा./जनजाति, दलित, मधेशी र पिछडिएको क्षेत्रमा २-२ जना गरि कुल १८ जना वैकल्पिक उम्मेदवारको सूचीमा रहेका छन्।
दामोदर न्यौपाने प्यूठान जिल्ला नौबहिनी गाउँपालिका वडा नं. ६ का स्थायी बासिन्दा हुन्। न्यौपानेले SLC सम्मको अध्ययन गाउँमै स्थित श्री गंगा उच्च माध्यमिक विद्यालय बाट पास गरेका थिए भने +2 उनले विज्ञान संकायमा महेन्द्र नमुना उ.मा.वि, नेपालगंज बाँके बाट र महेन्द्र बहुमूखी क्याम्पस, नेपालगंज बाँके बाटै समाजशास्त्रमा स्नातक पास गर्ने निकै मेहनती विद्यार्थी हुन्। उनले SLC र +2 मा प्रथम श्रेणीमा पास गरेका थिए भने स्नातकमा द्वितीय श्रेणीमा उत्तिर्ण गरेका थिए। SLC दिएर करिब ३ महिना छिमेकी देश भारत समेत गई ३ महिना जति काम गरि केहि पैसा जम्मा गरेर +2 पढ्न नेपाल फर्किएका उनि +2 को जाचँ सकाएपछि आफ्नो पढाईको ऋण तिर्नको लागि फेरी भारत होमिएका थिए। उनले करिब १ वर्ष भारतमा चौकीदारको काम समेत गरेका थिए। सो समयमा उनको अध्ययनमा करिब १ वर्ष को ग्याप रहेको थियो। उनले वि.स.२०६९ मा SLC, वि.स.२०७२ मा +2 र वि.स. २०७६ मा स्नातक उत्तिर्ण गरेका थिए।
२०७४ असार १ गते १९ वर्षको उमेरमा प्र.स.नि. मा नियुक्त भएका न्यौपाने तालिम सकाएपछि प्रहरी संगठनमा सेवा गर्दै आफ्नो अध्ययन लाई निरन्तरता दिएका थिए। पहिलो पोस्टिङ्ग को रुपमा जिल्ला रुकुम (पूर्व) मा गएका उनि करिब ४ वर्ष सोहि जिल्लामा रहदा ३ पटक पुरस्कृत, १ पटक वर्षको सर्वोत्कृष्ट अधिकृत, २ पटक सिस्ने गाउँपालिका बाट सम्मानित भएका थिए। सो जिल्लामा रहदा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लाको निर्वाचन सेलमा सहि उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेका थिए।
दोस्रो पोस्टिङ्ग को रुपमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्ग मा करिब ११ महिना कार्यरत रहदा एक पटक पुरस्कृत समेत भएका सक्षम युवा अधिकृत न्यौपाने अहिले सम्म ६ पटक पुरस्कृत भएका छन्। न्यौपाने बिगत ६ महिना देखी ईलाका प्रहरी कार्यालय बादे पिपल, सुर्खेतमा कार्यरत रहेका छन्। करिब ७ वर्ष अघि नेपाल प्रहरी संगठनमा प्रवेश गरेका प्र.स.नि. न्यौपानेले २०८१ मा भने प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा नाम निकाल्न सफल भएका हुन्।
प्रहरी निरीक्षक भर्नाको परीक्षा सुरु हुनुभन्दा ७ दिन पहिले पुष १३ गते न्यौपाने लाई पितृ शोक परेका थियो, उनको फिजिकल परीक्षा बुवाको किरिया पछि गर्ने गरि सारिएको थियो। निकै कठिन समयका बाबजुत आफुलाई सामाल्दै हरेक चरण उत्तिर्ण गरेका होनहार युवाको हौसला अपार रहेको पर्दर्शन अन्तिम नतिजामा उनले १ नम्बरमा नाम निकालेर गरेका छन्।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागको विज्ञापन नम्बर ०१ (०८०/८१) मिति २०८०/०७/०३ गतेको प्रकाशित विज्ञापनअनुसार परिक्षामा सहभागी भएकामध्ये खुला र समावेशी समूह गरी कुल ९६ जना इन्स्पेक्टर नियुक्तिका लागि उत्तीर्ण भएका हुन्। यसै गरि आशिस रायमाझी, एलन कुलुङ्ग राई, निराजन बस्नेत, प्रमोद खड्का क्रमश: दोस्रो, तेस्रो, चौथो र पाचौ नम्बरमा गरि ९६ जना उत्तिर्ण भएका छन्।
हेर्नुस को को भए उत्तिर्ण
