रुपन्देहीको बुटवल उपमहानगरपालिका भित्र रहेको आधुनिक पशु वधशाला संचालनमा आउनु भन्दा अगाडी नै विवादित बनेको छ। यति बेला मासु व्यवसायी संघ आन्दोलनमा छन्। बुटवल उप महानगरपालिकाले एक द्वार प्रणाली लागु गरि वधशाला भन्दा बाहिर बोका खसी काटमार गर्न रोक लगाएपछि मासु व्यवसायीहरु आन्दोलन गर्न बाध्य भएको बताउछन। उप महानगरपालिकाले नियम पालना गराउने भन्दै पहिलो पटक नियम नमान्ने लाई सिधै १० हजारको रसिद काटेर व्यवसायी लाई थमाएका छन् जस प्रति मासु व्यवसायीहरु निकै असन्तुष्ट देखिएका र आन्दोलित भएका हुन्। यस विषयमा बुटवल उप महानगरपालिका र मासु व्यवसायी बीच ३०औं पटक भन्दा बढि छलफलमा बसि सक्दा पनि उक्त विषय उचित निष्कर्षमा पुग्न सकेको छैन।

स्वदेशमै युवालाई स्वरोजगार गराउन सक्ने र अनेक रोजगार सिर्जना गर्न मासु व्यवसाय उपयुक्त हो तर राज्यले नै मासु व्यवसाय गरेर स्वदेशमै आफ्नो जीविकोपार्जन गरेका युवा पुस्तालाई उठिबास लगाउने होकी भन्ने चिन्ताले साना ठुलो मासु व्यवसायीहरुलाई सताई रहेको बताउछन एक जना मासु व्यवसायी। बुटवल उप महानगरपालिकाले कुनै प्राईभेट कम्पनिलाई वधशालाको जिम्मा लगाएर सबै मासु व्यवसायी विस्थापित गराई स्वरोजगार युवालाई धरापमा पार्ने चलखेल र सिण्डिकेट लागु गर्न लाएको भन्दै आफुहरु आफ्नो व्यवसायिक हक अधिकार को लागि आन्दोलित हुन बाध्य भएको बताउछन।

अस्वस्थ मासु बेच्ने, मासु व्यवसायी संघले निर्धारण नियम विपरित मासु बेच बिखन गर्ने लाई नियम संगत कारवाही हुनुपर्छ तर स्वस्थ सफा मासु बेच्नेहरुलाई निहित स्वार्थ पुरा गर्न र वधशाला बाट मासु न ल्याएको भन्दै पहिलो पटक १० हजार दोस्रो पटक २५ हजारको जरिवाना चिट काट्नु निकै अन्याय भएको मासु व्यवसायीहरु बताउछन।
एक जना मासु व्यवसायी भन्छन , १० हजार चिट काट्नु भन्दा वधशालामा गएर मासु ल्याउनु पर्यो भनेर जादा आज गयो भोलि साझ सम्म एउटा बोका पाउनुहुन्छ भन्ने जवाफ आउछ , मान्छे लाई आज मासु खान मन लायो भोलि लगिदिएर त भएन नि। वधशालामा व्यवसायी हरुको माग बमोजिम मासु उपलब्ध गराउन सक्ने अवस्था नरहेको व्यवसायीहरु बताउछन। वधशालामा हलालको व्यवस्था नरहेको हुदा पनि मुसलमान समुदायका मासु व्यवसायीहरुलाई समेत जरिवाना काटेको प्रति उनीहरुको आपत्ति रहेको छ।

यस्तो अपरिपक्वता नियम जबर्जस्ती लाद्नु पर्नेमा केहि न केहि शंका गर्नु पर्ने, सिण्डिकेट किन लगाउदै छ पालिकाले भनेर थप खोज अनुसक्न्धान गर्नु पर्ने देखिन्छ, कतै जनप्रतिनिधि र कर्मचारी हरुकै मिलेमतोमा निजि कम्पनि लाई दिन थालेको त होइन भनेर शंका गर्नु पर्ने धेरै ठाउँ रहेको र उनीहरुको शेयर समेत हुन सक्ने आशंका रहेको भन्छन व्यवसायी लक्ष्मण श्रेष्ठ। यो विषय लाई तत्काल उचित समाधान गर्नु पर्ने मासु व्यवसायीहरुको माग रहेको छ। कुनै एक जनालाई वा निश्चित कम्पनि लाई नाफा दिन सम्पूर्ण मासु व्यवसायीहरुले आफ्नो पेशा त्याग्नु पर्ने कस्तो नियम हो भनेर भन्छन व्यवसायीहरु साथै उनीहरु भन्छन निश्चित मापदण्ड के कस्ता अबलम्बन गर्नु पर्ने हो त्यो उप महानगरपालिका र मासु व्यवसायीहरुको सहमतिमा निर्धारण होस् र सोहि अनुसार सबै मासु व्यवसायीहरुले आफ्नो पसल लाई सोहि अनुरुप व्यवसाय गर्दा न्यायोचित हुने देखिन्छ।

