नेपालका अधिकांश नेता र राजनीतिक दलहरू, स्थानीय तह देखी केन्द्र, वडा कार्यालय देखि सिंहदरबार, चौकी देखि मुख्यालय, कार्यालय सहायक देखी प्र. म. हरेक क्षेत्र(अपवाद बाहेक) भ्रष्टाचारमा डुबेका वा कुनै न कुनै काण्डमा मुछिएका छन्, जसले राष्ट्रको विकास र जनताको हितको कुनै दृष्टिकोण राख्दैनन्। उनीहरूको ध्यान केवल भ्रष्टाचार गरेर आफ्ना र आफ्ना वरपरका मानिसहरूको सम्पत्ति बढाउनमा केन्द्रित छन। भ्रष्टाचार संस्थागत रुपमा भएको छ, र राष्ट्रिय बजेट व्यक्तिगत स्वार्थ र निहित आर्थिक-राजनीतिक लाभका लागि खर्च भइरहेको छ। सयौं घोटालाहरूमा राजनीतिक दलका नेताहरू संलग्न छन्, तर उनीहरु कानूनी सजायबाट उम्किरहेका छन् किनकि उनीहरूले राजनीतिक शक्तिको दुरुपयोग गरेर न्यायिक प्रक्रियामा हस्तक्षेप गर्छन्।
न्यायालयमा सामान्य देखी जघन्य अपराध जस्ता विषयमा धेरै नेताहरू विरुद्ध मुद्दा चलेका छन्, तर उनीहरू राजनीतिक पहुँचका कारण सजायबाट उम्किन्छन्। राजनीतिक नेताहरूका स्वार्थ पूरा गर्नका लागि महत्त्वपूर्ण सरकारी कार्यालयहरूमा आफू निकटका कर्मचारीहरू नियुक्त गरिन्छन्। यसले गर्दा ती कर्मचारीहरू नेताहरूविरुद्ध कुनै कारबाही गर्न असमर्थ हुन्छन्। सरकारी कार्यालयहरूमा हरेक निर्णय नेताहरूको व्यक्तिगत फाइदाका लागि गरिन्छ, जनताको हितलाई प्राथमिकतामा राखिदैन। कानुनहरू केवल कागजमा सीमित छन्, कार्यान्वयनको कुनै प्रभावकारी व्यवस्था छैन।
युवाहरूमा निराशा व्याप्त छ, जसका कारण हजारौं युवा राम्रो अवसरको खोजीमा विदेश पलायन भइरहेका छन्। देशको स्थिति दिन प्रतिदिन खराब हुँदै गएको छ, र थुप्रै सामाजिक समस्याहरूको सामना गर्नुपरेको छ। व्यवसाय र उद्योगमा कुनै राम्रो नीति छैन, जसले गर्दा निजी क्षेत्र पनि जर्जर अवस्थामा छ। खुला सिमानाका कारण आपराधिक गतिविधि र तस्करी बढेको छ। सरकारी अधिकारीहरूले(अपवाद बाहेक) कानुन तोडेर व्यक्तिगत लाभका लागि काम गरिरहेका छन्, जसले गर्दा भ्रष्टाचार चरम सीमामा पुगेको छ।
नेपालको अवस्था दिनप्रतिदिन खराब बन्दै गएको छ, जसको मुख्य कारण (अपवाद बाहेक) खराब र भ्रष्ट नेता, कर्मचारी, न्यायालय र पत्रकारहरू हुन् भन्दा फरक नपर्ला। किनकि उनीहरु (अपवाद बाहेक ) कसैले आफ्नो काम जनहितमा ईमानदारी पुर्वक गरेका छैनन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार, र विकासका क्षेत्रमा कुनै सुधार देखिँदैन। अशिक्षित, शिक्षित, दक्ष अर्धदक्ष, र सीपयुक्त युवा देशमा बस्न चाहँदैनन्, जसले गर्दा भविष्यको विकास समेत अन्योलमा परेको छ।
राम्रो स्वास्थ्य सेवा छैन, गुणस्तरीय शिक्षा छैन, र देशमा आधारभूत पूर्वाधारको कमी छ। नेताहरूले केवल आफ्नो फाइदाको लागि मात्र काम गरिरहेका छन्, र जनताको हितलाई बेवास्ता गरिरहेका छन्। यो अवस्थामा नेपालले समृद्ध भविष्यको सपना देख्न सक्दैन, जबसम्म भ्रष्टाचार अन्त्य हुँदैन र देशको नेतृत्वले सही मार्गमा पाइला चाल्दैन। नेपालमा भ्रष्टाचारले गहिरो जरा गाडेको छ, जसले गर्दा देशको समग्र विकास रोकिएको छ। आम जनता जागरुक नभए सम्म र नेतृत्वले अब जिम्मेवारी महसुस नगरे सम्म नेपालको अवस्था अझै गम्भीर जटिल हुने छ। भावी पुस्ताले सुन्दर नेपाल को अनुभूति गर्न पाउने अवस्था रहदैन भन्दा गलत नहोला।
