काठमाडौं – नेपाल प्रहरीका केही एसएसपीहरूको काज सरुवा भई सकेको छ। गृह मन्त्रालयले लागुऔषध नियन्त्रण ब्यूरोमा सुदर्शन कोइरालालाई र नेपालगञ्ज तालिम केन्द्रमा नान्नतीराज गुरूङलाई काजमा खटाएको छ। यसअघि ब्यूरोमा कार्यरत दिनेश आचार्य र नेपालगञ्ज तालिम केन्द्रका राजेन्द्रप्रसाद भट्ट डीआईजीमा बढुवा भएपछि ती पदहरू रिक्त भएका थिए, जसलाई काज सरुवा गरेर पूर्ति गरिएको हो।
यससँगै काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध महाशाखामा नयाँ नेतृत्व आउने तयारी भइरहेको छ। स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरे र अपराध महाशाखा प्रमुख सानुराम भट्टराईको सरुवापछि एसएसपी विश्व अधिकारी वा भैरहवा विमानस्थल सुरक्षा प्रमुख रमेश बस्नेतमध्ये एकजनालाई काठमाडौं परिसर र अर्को एक जनालाई अपराध महाशाखामा खटाउने योजना छ।
महाशाखा र परिसर दुवै युनिट अत्यन्तै महत्वपूर्ण सुरक्षा जिम्मेवारीका लागि चिनिन्छन्। काठमाडौं परिसरले जिल्लाको सुरक्षा व्यवस्थापन गर्छ भने अपराध महाशाखाले उपत्यकाको सुरक्षा रणनीति सञ्चालन गर्ने जिम्मेवारी बोकेको हुन्छ। यी युनिटहरू प्रहरी अधिकारीहरूका लागि चुनौतीपूर्ण र आकर्षक जिम्मेवारी समेत मानिन्छन्।
गृह मन्त्रालयले हालै एसएसपीमा सिफारिस गरिएका २५ एसपीहरूको बढुवा भएपछि उनीहरूको पदस्थापन र सरुवाको अन्तिम तयारी गरिरहेको छ।
