अन्तर्राष्ट्रिय ,
डब्बो नेपाली कम्युनिटी अष्ट्रेलिया (डिएनसिए) ले २०२५ को मल्टिकल्चरल नन-फर-प्रोफिट मेडल अवार्ड जितेको छ। यो अवार्ड एनएसडब्ल्यू कम्युनिटी र जस्टिस विभागद्वारा प्रायोजित हो । डिएनसिएले सामूहिक प्रयासहरूको माध्यमबाट डब्बोमा सांस्कृतिक संरक्षण र समुदाय एकतामा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ। डब्बो नेपाली कम्युनिटी अष्ट्रेलिया (डिएनसिए)ले रक्तदान अभियान, भाषा विद्यालय सञ्चालन, स्वास्थ्य पहुँच सुधार, सांस्कृतिक र खेलकुद कार्यक्रमहरुको आयोजना, र नयाँ आगन्तुकसँग सम्बन्ध निर्माण गर्ने कार्यमा निकै सक्रियता देखाएको छ।डब्बो नेपाली कम्युनिटी अष्ट्रेलिया (डिएनसिए) का निवर्तमान अध्यक्ष सुनिल भण्डारीले नेपाली सांस्कृतिक धरोहरको उत्सव मनाउनु र बहुसांस्कृतिकता प्रवर्द्धन गर्नु डीएनसीएको मुख्य उद्देश्य भएको बताउनुभयो।

डिएनसीएले नियमित रूपमा रक्तदान कार्यक्रमहरूमा सहभागी हुँदै समुदायलाई पनि यसमा जोड्न प्रेरित गर्दै आएको छ भने नेपाली महत्त्वपूर्ण चाडपर्वहरु जस्तै तीज, नेपाली नयाँ वर्ष, होली, दशैं, र तिहारका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै स्थानीय समुदायसँग सांस्कृतिक आदान-प्रदान गर्ने कार्यलाइ समेत निरन्तरता दिँदै आएको छ। ।डिएनसीएकै सक्रियतामा सन २०२३ मा स्थापना भएको “नानी-बाबु नेपाली पाठशाला” मा ३० भन्दा बढी विद्यार्थीहरू भर्ना भइ अध्ययन गर्दै आएका छन भने डिएनसीएले नयाँ आगन्तुकलाई आवास, रोजगार, र यातायातको सहयोगसमेत प्रदान गर्दै आएको छ । समाजको विकास र भविष्यको योजनाबारे कुरा गर्दै निवर्तमान अध्यक्ष भण्डारीले भन्नु भयो , “हामी आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गर्न र समुदायसँग डिजिटल रूपमा जोडिने लक्ष्य राखेका छौं। सामुदायिक सेवामा गरेको अमूल्य योगदानको उच्च मूल्याकंन गर्दै डब्बो नेपाली कम्युनिटी अष्ट्रेलिया (डिएनसिए) लाई २०२५ को मल्टिकल्चरल नन-फर-प्रोफिट मेडल प्रदान गरिएको छ।
