देवचुली, नवलपुर — मिति २०८२ साउन ११ गते, दिउँसो करिब ३:४० बजे नवलपुरको देवचुली नगरपालिका–१, देवी गैरा सामुदायिक वन नजिकैको सडक छेउमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ।
स्थानीय बासिन्दाले तन्नामा पोको पारेर फालेको अवस्थामा नवजात शिशु (छोरा)को शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, नवलपुर (पूर्व) बाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान थालेको जनाइएको छ।
प्रहरीका अनुसार शिशुको जन्म भएको धेरै समय नबितेको देखिन्छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
#khabarbutwal

यस संवेदनशील घटनाले स्थानीय वासीलाई स्तब्ध बनाएको छ। प्रहरीले दोषी पहिचान गर्न आसपासको क्षेत्रका सीसीटीभी फुटेज जाँच गर्ने, स्थानीयवासीहरूसँग सोधपुछ गर्ने लगायतका अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। प्रहरीले कसैले यस्ता संवेदनहीन कार्य देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।
नोट: यस समाचारका विषयमा थप विस्तृत जानकारी आउन बाँकी छ। नयाँ विवरण प्राप्त भएमा समाचार अपडेट गरिनेछ।
