गायक रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’ को शुभमुहूर्त

गायक रामकृष्ण ढकाल लगानी रहेको फिल्म ‘मालती मंगले’ ले शुभमुहूर्त गरिएको छ। बिहीबार काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको फिल्मको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए।

यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायाङ्कनलाई शुभारम्भ गरेका थिए।चर्चित गायक ढकालले शुभ मुहूर्त कार्यक्रममा ‘राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता’ व्यक्त गर्दै दर्शकलाई नेपाली समाजसँग जोडिने भावनात्मक कथा पस्किने बताएका थिए।

त्यस्तै, कलाकार त्रय विजय बराल, वर्षा राउत र मेक्सम गौडेलले चलचित्र ‘मालती मंगले’ आफ्नो अभिनय यात्रामा विशेष बन्ने विश्वास व्यक्त गरे।

यस फिल्ममा विजय, वर्षा, मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनील तामाङ, उमेश सुनाम, शकु शाह, सुचीत्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टर्राईलगायतको अभिनय छ। चलचित्रको निर्देशन प्रकु पाण्डेयले गर्नेछन्। कथा स्वयं पाण्डेयकै लेखन रहेको छ भने पटकथा तथा संवाद गुरागाईँले तयार गरेका हुन्। चलचित्र पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा आधारित रहने जनाइएको छ।

कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार चलचित्रको मुख्य छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिनेछ। छायाङ्कन कार्य शनिबारदेखि सुरु हुने तयारीमा छ।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ रहेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.