हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला सुरु भएको छ ।भरतपुर महानगरपालिका वडा न. २३ को कार्यालय, राष्ट्रिय निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना तथा पूजा व्यवस्थापन समिति द्वारा विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा गरेपछि मेला सुरु भएको हो ।
भरतपुर महानगर-२३ का वडा अध्यक्ष दीपक दवाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजा आजाको व्यवस्थापन गर्ने छन् भने घैलाघारी सामुदायिक वनले पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको छ । दवाडीले यस वर्ष चार लाख भक्तजनले मेला अवलोकन गर्ने अनुमान गरिएको बताएका छन। केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भूजेलका अनुसार, “पूजा व्यवस्थापनका लागि २८ सदस्यीय समिति गठन गरिएको छ । मन्दिरमा पूजा गर्ने समय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय गरिएको छ । साँझ ५ बजेपछि जङ्गली जनावारको चहलपहल हुने जोखिम भएपछि पूजा गर्ने समय निर्धारण गरिएको गरिएको हो ।”
मेलामा मा सहभागी व्यवसायीलाई पनि साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घैलाघारी सामुदायिक वनका अध्यक्ष लिलाराज भुुसालले बताएका छन । मेला व्यवस्थापनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको जानकारी दिए । ५ उपसमिति निर्माण गरी मेला व्यवस्थापनको काम गरिएको छ । उनका अनुसार, “सामुदायिक वन क्षेत्रभित्र दिउँसोमा पार्किङ र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ बजेपछि मेला बन्द गर्ने गरी निर्णय गरेका छौँ”, भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रम बाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु समुदायले गर्ने भएता पनि पछिल्लो समयमा सबै समुदायले पूजा गर्ने गरेका छन् । सन्तान प्राप्ति र सुख लगायतका मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रम बाबाको पूजा गर्ने गरेको पाइन्छ।
